वीरगञ्ज । उपकार सेवा नेपालले पूर्ण अपाङ्गता भएका बाराको कलैया उपमहानगरपालिका–२ निवासी हिरालाल राउत कुर्मीलाई ह्वीलचेयर सहयोग गरेको छ।

उपकार सेवा नेपालको पहल तथा क्विन ज्वेल्स प्रालिको सहकार्यमा कुर्मीलाई ह्वीलचेयर हस्तान्तरण गरिएको हो। घरबाहिर आवतजावत गर्न तथा हिँडडुल गर्न समेत कठिनाइ भइरहेको अवस्थाबारे जानकारी पाएपछि उनलाई सवारीसाधनको व्यवस्था गरी वीरगञ्ज ल्याएर ह्वीलचेयर प्रदान गरिएको संस्थाले जनाएको छ। सहयोगपछि उनलाई सम्मानपूर्वक घरसम्म पुर्याइएको थियो।

उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीको नेतृत्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी अमर सर्राफ, ‘बारा अपडेट’ अनलाइनका पत्रकार प्रह्लाद चौरसियालगायत स्थानीयवासीको उपस्थिति थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिने यस्ता मानवीय सहयोगले उनीहरूको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। ह्वीलचेयर पाएपछि कुर्मीको आवतजावतमा सहजता आउने र दैनिक जीवनमा सकारात्मक परिवर्तन हुने अपेक्षा गरिएको छ।


