Lucky-Khabar_

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदलद्वारा स्थलगत निरीक्षण

वीरगन्ज । लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले मंगलबार कारखाना परिसरको स्थलगत निरीक्षण गरेको छ ।

content ad p2

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । सोही कार्यदल स्थलगत अध्ययन तथा अनुगमनका लागि मंगलबार वीरगन्जस्थित कारखाना परिसर पुगेको हो ।

निरीक्षणका क्रममा कार्यदलले कारखानामा रहेका भवन, मेसिनरी, उपकरण, पार्टपुर्जा तथा अन्य भौतिक संरचनाको वर्तमान अवस्थाबारे जानकारी लिएको छ । पुनः सञ्चालनका क्रममा विद्यमान संरचना उपयोग गर्न सकिने अवस्था तथा आवश्यक मर्मत, पुनर्निर्माण र पूर्वाधारबारे समेत अध्ययन भइरहेको छ ।

मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार खारेजीमा परेको वीरगन्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, यसअघि तयार गरिएका अध्ययन तथा प्रतिवेदन र पुनः सञ्चालनका लागि चाल्नुपर्ने आवश्यक कदमबारे कार्यदलले अध्ययन गर्नेछ ।

कारखाना सञ्चालनका लागि आवश्यक सम्भावित लगानी, मेसिनरीको अवस्था, संरचना मर्मत तथा पुनर्निर्माण र उत्पादन सञ्चालनका लागि आवश्यक पूर्वाधारलगायत प्राविधिक तथा आर्थिक पक्षलाई अध्ययनको दायरामा राखिएको छ ।

मन्त्रालयले गठन गरेको कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिडिई श्रीकान्त यादव रहेका छन् । सदस्यमा मन्त्रालयकी शाखा अधिकृत ज्योति पौडेल र उद्योग मन्त्रालयका सल्लाहकार श्याम शर्मा रहेका छन् ।

कार्यदललाई अध्ययन पूरा गरी १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । स्थलगत निरीक्षणसहित आवश्यक अध्ययन पूरा भएपछि कार्यदलले वीरगन्ज चिनी कारखाना पुनः सञ्चालन गर्न सकिने अवस्था, आवश्यक प्रक्रिया र सम्भावित कार्ययोजनाबारे सरकारलाई सुझाव दिनेछ ।

लामो समयदेखि बन्द रहेका कारण कारखानाका सम्पत्ति तथा संरचना जीर्ण बन्दै गएका छन् । कारखाना पुनः सञ्चालनको विषय विगतदेखि नै चर्चामा रहे पनि ठोस निर्णय र कार्यान्वयन हुन सकेको छैन । सरकारले पछिल्लो पटक औपचारिक रूपमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेपछि कारखाना पुनः सञ्चालनको सम्भावनाबारे पुनः बहस सुरु भएको छ ।

कार्यदलको प्रतिवेदनले कारखाना पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक, आर्थिक तथा व्यवस्थापकीय पक्षबारे आधार तयार गर्ने अपेक्षा गरिएको छ । सोही प्रतिवेदनका आधारमा सरकारले वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनका सम्बन्धमा थप निर्णय लिनेछ ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर