काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरी रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

फोन संवादका क्रममा मोदीले बाढीबाट नेपालमा भएको क्षतिबारे जानकारी लिँदै पीडितप्रति समवेदना व्यक्त गरेका हुन्। उनले विपद्को यस कठिन घडीमा भारतका जनता नेपाली नागरिकसँग ऐक्यबद्ध रहेको बताएका छन्।प्रधानमन्त्री शाहसँगको कुराकानीपछि मोदीले सामाजिक सञ्जालमार्फत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको बताएका छन्।

‘प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेँ। यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्ध छन्,’ मोदीले उल्लेख गरेका छन्।उनले विपद्का बेला नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको बताउँदै उद्धार तथा राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीसँग समन्वय गरिरहेको जानकारी दिएका छन्।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीले विभिन्न क्षेत्रमा सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ भने कैयौँ मानिस प्रभावित भएका छन्।भारतले यसअघि पनि नेपालमा प्राकृतिक विपद्का बेला उद्धार, राहत तथा मानवीय सहयोग उपलब्ध गराउँदै आएको छ। रसुवा बाढीपछि मोदीको फोन संवादले नेपाल–भारतबीच विपद् व्यवस्थापन तथा मानवीय सहायताका क्षेत्रमा समन्वय थप सक्रिय हुने संकेत गरेको छ।


