काठमाडौं। रसुवासहित बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले नेपाललाई तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बाढीबाट भएको क्षतिको विवरण सार्वजनिक हुन थालेसँगै तीनै पक्षले नेपाल सरकारसँग समन्वय गर्दै आपत्कालीन सहयोगको प्रक्रिया अघि बढाएका हुन्।विश्व बैंकका नेपालका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले बुधबार बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतमार्फत आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँसम्म उपलब्ध गराउन सकिने जानकारी दिएका छन्।
यस्तै, भारतले बाढी प्रभावितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गरी भारतबाट प्राप्त हुने राहत सामग्री बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको बताएका छन्।
उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावितका लागि तत्काल नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन्।सरकारले छिमेकी मुलुक र दातृ निकायबाट प्राप्त सहयोग प्रतिबद्धताप्रति आभार व्यक्त गरेको छ। अर्थमन्त्री डा. वाग्लेले सहयोग परिचालनको मोडालिटीबारे सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक छलफल अघि बढिरहेको बताएका छन्।
यसैबीच, बुधबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।सरकारका अनुसार संकटग्रस्त क्षेत्र घोषणा भएसँगै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि घरेलु तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।


