काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका सडक तथा पुल संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण तीन जिल्लाका ३२ वटा पक्की तथा बेलिब्रिज पुल पूर्ण रूपमा बगेका छन् भने थप तीन पुलमा आंशिक क्षति पुगेको सडक विभागले जनाएको छ।

विभागका अनुसार बाढीको उच्च जोखिममा परेका ६ वटा पुल भने बग्नबाट जोगिएका छन्। पुल तथा सडक संरचनामा भएको क्षतिले उत्तरी सीमा जोड्ने यातायात र आपूर्ति प्रणाली प्रभावित भएको छ।
सबैभन्दा बढी क्षति रसुवा र नुवाकोटमा भएको छ। रसुवामा नेपाल–चीन सीमा जोड्ने ऐतिहासिक मितेरी पुलसहित १३ वटा पुल बाढीले पूर्ण रूपमा बगाएको छ। टिमुरेका दुई पुल, चिलिमे र स्याफ्रुबेँसी क्षेत्रका भोटेकोसी तथा चिलिमे खोलाका बेलिब्रिज, स्याफ्रुबेँसी पुल तथा त्रिशूली र मैलुङ खण्डका पाँच पुलसमेत बाढीले ध्वस्त बनाएको विभागले जनाएको छ।
त्यस्तै, नुवाकोटमा १४ वटा पुल बाढीको चपेटामा परेका छन्। बेत्रावतीका पुराना तथा नयाँ पुल, त्रिशूली बजारका दुई पुल, तुप्चेस्थित त्रिशूली नदी पुल, सिमचौर पुल र देवीघाटस्थित मध्यपहाडी राजमार्गको पुल पूर्ण रूपमा बगेका छन्। ताँदी खोलाका दुई पुलका साथै श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटारस्थित त्रिशूली नदीका पुलमा पनि ठूलो क्षति पुगेको छ।
धादिङमा पाँच वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन् भने तीन पुलमा आंशिक क्षति पुगेको छ। स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुको फुर्के खोला पुल तथा कोल्पु खोलाका दुई पुल बाढीले बगाएको विभागले जनाएको छ। मास्तर, जरेबगैँचा र कोल्पु खोलाको नयाँ पुलमा भने आंशिक क्षति पुगेको छ।
यद्यपि गल्छी नजिकको भिमढुङ्गा–लामिडाँडा, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिन क्षेत्रका पुल भने सुरक्षित रहेको सडक विभागले जनाएको छ।
ठूलो संख्यामा पुल बगेपछि उत्तरी क्षेत्रसँगको सडक सम्पर्क विच्छेद भएको छ। यसले दैनिक आवतजावतसँगै खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुने अवस्था सिर्जना गरेको छ। बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्काल वैकल्पिक व्यवस्था र पुनर्निर्माण आवश्यक देखिएको छ।



