काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा नेपाली सेनाले हवाई तथा पैदल उद्धारलाई तीव्र बनाएको छ। सेनाले बिहीबार दिउँसो साढे ३ बजेसम्म ५० जना विदेशी नागरिकसहित ६०२ जना बाढीपीडितको हेलिकप्टरमार्फत उद्धार गरेको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार टिमुरे, स्याफ्रुबेसी, धुन्चे र मैलुङ क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। त्यसैगरी थप २०० जनालाई पैदल मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
बाढी तथा पहिरोमा घाइते भएकाहरूको उपचारका लागि वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सकसहितको विशेष मेडिकल टोली परिचालन गरिएको छ। त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमार्फत हालसम्म ३३८ जना घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ।
खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सेनाले आधुनिक ड्रोन र तालिम प्राप्त सैनिक कुकुरसमेत परिचालन गरेको छ। बाढी प्रभावित क्षेत्रमा ४ हजार २ सयभन्दा बढी सैनिक जवान उद्धार, राहत वितरण तथा चिकित्सा सेवामा निरन्तर खटिएका छन्।
यसैबीच, बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन पनि सेनाले काम गरिरहेको छ। धादिङस्थित पृथ्वी राजमार्गमा थुप्रिएको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्य जारी रहेको सेनाले जनाएको छ।भोटेकोसी बाढीपछि रसुवाका प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा खोजी कार्यलाई थप तीव्र बनाइएको छ।


