धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीस्थित त्रिशूली नदी किनारमा फेला परेको एक थान सेफ लकर नेपाली सेनाले प्रहरीलाई बुझाएको छ।

भदौ १० गते आएको बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिएको नेपाली सेनाको श्री भैरव गणको गस्ती तथा उद्धार टोलीले स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा नदी किनारमा उक्त सेफ लकर फेला पारेको हो।
सेफ लकर फेला परेपछि सेनानी विदुरराज गिरीको कमान्डमा खटिएको टोलीले त्यसलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो। त्यसपछि बेनीघाट रोराङ गाउँपालिका–७ का वडा अध्यक्ष कुमार बस्नेत तथा स्थानीयवासीको रोहबरमा सम्बन्धित प्रहरी निकायलाई सेफ लकर बुझाइएको नेपाली सेनाले जनाएको छ।
बाढीपछि त्रिशूली नदी आसपासका क्षेत्रमा हराएका तथा बाढीले बगाएका सामानको खोजी तथा उद्धार कार्य जारी रहेको छ। सेनाले स्थानीयवासीसँगको समन्वयमा नदी किनार तथा आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।


