काठमाडौं, २२ भदौ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि उडान भरिरहेको कार्गो विमान अवतरणका क्रममा धावनमार्गबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

पोर्टो रिकोको सान जुआनबाट मियामीका लागि उडेको ३२ वर्ष पुरानो बोइङ–७६७ विमान अवतरणका क्रममा धावनमार्ग पार गर्दै नजिकै रहेका सवारीसाधनमा ठोक्किएको थियो। ठक्करपछि विमानमा भीषण आगलागी हुँदा घटनास्थलमा बाक्लो कालो धुवाँ फैलिएको थियो।

मियामी–डेड अग्नि तथा उद्धार विभागका प्रमुख राइड जादाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूलाई तत्काल ट्रमा सेन्टरमा भर्ना गरिएको छ भने अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
२१ एयरद्वारा सञ्चालित उक्त विमान अमेजनका लागि कार्गो उडानमा प्रयोग हुँदै आएको थियो। फ्लाइट ट्र्याकिङ तथ्याङ्कअनुसार विमान धावनमार्गबाट बाहिरिँदा करिब १३० माइल प्रतिघण्टाको गतिमा रहेको थियो।दुर्घटनाअघि विमानका चालक दलका सदस्यहरूले कुनै आपत्कालीन सङ्केत नदिएको हवाई ट्राफिक नियन्त्रणको अडियो समीक्षाबाट देखिएको छ।

दुर्घटनापछि मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि सबै उडान तथा अवतरण रोकिएको थियो। दुर्घटनाग्रस्त विमान अझै धावनमार्ग क्षेत्रमा रहेकाले सोमबारसम्म पनि उडानहरू प्रभावित हुने बताइएको छ।घटनाको कारण पत्ता लगाउन अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) र सङ्घीय उड्डयन प्रशासन (FAA) ले अनुसन्धान सुरु गरेका छन्।


