वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा वीरगञ्जको घण्टाघरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।

सरकारले घोषणा गरेको राष्ट्रिय शोकका अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगर कमिटीको आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरिएको हो।
कार्यक्रममा रास्वपाका प्रदेश, जिल्ला तथा नगर तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपत्तिमा परी प्रभावित भएका नागरिकप्रति ऐक्यबद्धता जनाइएको थियो। सहभागीहरूले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका थिए।
रास्वपाले विपद्का बेला पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा राज्यका सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा समेत जोड दिएको जनाएको छ।


