रौतहट जिल्लाको परोहा नगरपालिका-९, रामपुर खापमा बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सुचारु गर्नुपर्ने माग राख्दै स्थानीयबासीले आमरण अनसन सुरु गरेका छन्।

शान्तिपूर्ण धर्ना र रिले अनसनको पाँच दिन बितिसक्दा पनि माग सम्बोधन नभएपछि नेपाल सिमाना संघर्ष समितिको अगुवाइमा आजदेखि अनिश्चितकालीन आमरण अनसन सुरु गरिएको हो। आमरण अनसनमा स्थानीय अगुवा मो. सहिद एकबाल, साहेब साह कानु र समिअख्तर बस्नुभएको छ।
संघर्ष समितिका अनुसार सीमाक्षेत्रका बासिन्दाको दैनिक आवतजावत, सानो व्यापार र कृषि उपजको कारोबार छोटी भन्सार बन्द भएपछि ठप्प भएको छ। पटक-पटक जिल्ला प्रशासन कार्यालय गौर र भन्सार कार्यालयको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको उनीहरुको गुनासो छ।
आन्दोलनको पाँचौं दिनसम्म आइपुग्दा सम्बन्धित निकायले वार्ता र समाधानको पहल गर्नुको साटो आन्दोलनकारीलाई धम्क्याउने र झुठा मुद्दामा फसाउने प्रयास गरेको आरोप समितिले लगाएको छ। विशेष गरी सशस्त्र प्रहरी बल, ११ नं. गण रौतहटले सीमा क्षेत्रका सर्वसाधारण र साना व्यवसायीलाई अनावश्यक दुःख दिने गरेको भन्दै स्थानीयबासीले आपत्ति जनाएका छन्।
स्थानीय स्तरमा सुनुवाइ नभएपछि समस्यालाई केन्द्रसम्म पुर्याउन परोहा नगरपालिकाका नगर प्रमुख सहित संघर्ष समितिको उच्च स्तरीय टोली आज काठमाडौं प्रस्थान गरेको छ। टोलीले सिंहदरबारस्थित गृह मन्त्रालय, अर्थ मन्त्रालय र भन्सार विभागका मन्त्री तथा सचिवहरुलाई भेटेर रामपुर खाप नाकाको संवेदनशीलता र छोटी भन्सार पुनः सञ्चालनको आवश्यकता बारे ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ।
संघर्ष समितिले काठमाडौंको यो वार्तालाई अन्तिम विकल्पको रुपमा लिएको बताएको छ। केन्द्रबाट पनि माग सम्बोधन नभए आन्दोलन थप कडा बनाउने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी जिल्ला प्रशासन, सुरक्षा निकाय र भन्सार विभागले लिनुपर्ने समितिले चेतावनी दिएको छ।


