बाढीमा परी पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् ।

चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको सिरीङ्गे हिमालमा हिमपहिरो गएपछि बूढीगण्डकी नदीमा ठूलो बाढी आएको बताइएको छ । हिमपहिरोका कारण स्थानीय उइङ्गुलुङ खोला र बूढीगण्डकी नदीको बहाव अवरुद्ध भई बनेको पानीको अवरोध खुलेपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक जानकारी छ ।
बाढीले चुमनुब्री गाउँपालिका–३ को न्याक्चेतस्थित सिर्दिबास जोड्ने झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ केरौँजामा रहेको झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, आरुघाट गाउँपालिका–९ मा रहेको मोटरेबल पुलको एकतर्फ क्षति पुगेको छ भने आरुघाट गाउँपालिका–२ र ३ जोड्ने फलामे मोटरेबल पुल पनि बाढीले बगाएको बताइएको छ ।
बाढीमा परी पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् । स्थानीयका अनुसार उनीहरू गोठालो गएका थिए तर फर्किएर नआएपछि खोजी सुरु गरिएको हो । प्रहरीले उनीहरूको खोजी कार्य अघि बढाएको छ ।
बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासमा रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा पानी पसेको छ । धार्चे गाउँपालिका–५ मा पाँचदेखि सातवटा घर तथा गोठमा बाढी पसेको बताइएको छ । धार्चेको सल्लेरी क्षेत्रमा करिब २२ वटा घर जोखिममा परेका छन् ।
बाढीले निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउससमेत बगाएको छ । पावरहाउस आसपासका सातदेखि आठवटा घर पनि बाढीले बगाएको बताइएको छ ।
घटनास्थलमा खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरमार्फत सिर्दिबास र हिमपहिरो गएको क्षेत्र आसपास खोजी तथा उद्धारको प्रयास भइरहेको छ । बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ ।


