वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीमा महाबिरी झण्डा मेलाको अवसरमा नेपाल र भारतका चर्चित पहलवानहरूको सहभागितामा कुस्ती दंगल सम्पन्न भएको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दंगलमा दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

दंगलको उद्घाटन वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखका प्रत्यासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै पटेलले खेलाडीको प्रोत्साहन र खेलकुद क्षेत्रको विकासका लागि विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आफू पनि खेलाडी तथा खेलाडी परिवारबाट आएको उल्लेख गर्दै पटेलले खेलाडीका समस्या र आवश्यकताबारे आफू जानकार रहेको बताउनुभयो। आगामी छ महिनापछि वीरगञ्ज महानगरपालिकाको प्रमुखमा निर्वाचित भए खेलाडीहरूका लागि विशेष प्याकेज ल्याउने उहाँले घोषणा गर्नुभयो।

खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, एकता र सकारात्मक सोचको विकास गर्ने बताउँदै पटेलले कुनै एउटा खेलमा मात्र सीमित नभई सबै विधाका खेलाडीलाई समान रूपमा सहयोग र प्रोत्साहन गर्ने धारणा राख्नुभयो। खेलाडीलाई आवश्यक अवसर, सुविधा र सहयोग उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।
महाबिरी झण्डा मेलाको मुख्य आकर्षणका रूपमा रहेको कुस्ती दंगलमा नेपाल र भारतका पहलवानहरूबीच भएको प्रतिस्पर्धाले दर्शकलाई उत्साहित बनाएको थियो। परम्परागत रूपमा आयोजना हुँदै आएको यस दंगलले कुस्ती खेलको संरक्षणसँगै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाउन योगदान पुर्याउँदै आएको छ।
कार्यक्रममा परवानीपुर गाउँपालिका–५ का वडाध्यक्ष रामेश्वर कलवार, वडा सदस्य दरा सिंह पटेल, शिवशंकर पटेल, अधिवक्ता रामचन्द्र सिंह, अजय पटेल, सुरेश पटेल, रामेश्वर पटेल र ब्रह्मदेव खलिफालगायत जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता छोटेलाल पटेलले गर्नुभएको थियो।
स्थानीय परम्पराअनुसार बहुअरीमा प्रत्येक वर्ष घटस्थापनापछि असोज महिनाको शुक्ल पक्षमा पर्ने शनिबार वा मंगलबार महाबिरी झण्डा मेला आयोजना हुँदै आएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मेलामा कुस्ती दंगल प्रमुख आकर्षणका रूपमा रहने गरेको छ।मेलाले स्थानीय समुदायबीच आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचान कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयवासीले बताएका छन्।


