वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आफ्नो सदस्यता खारेज नहुने दाबी गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट दिए मेयर पदमा उम्मेदवारी दिने बताएका छन्।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलमा भइरहेको फेरबदल र चुनावी रणनीतिबारे चर्चा भइरहेका बेला सरावगीले आफ्नो पार्टी परिवर्तन र सदस्यता खारेजीसम्बन्धी हल्ला निराधार रहेको बताएका हुन्। आफूले रास्वपाको सदस्यता लिइसकेको उल्लेख गर्दै उनले कसैले चाहँदैमा सदस्यता खारेज नहुने जिकिर गरेका छन्।

सरावगीका अनुसार रास्वपाको नयाँ सोच, दृष्टिकोण र देश विकासप्रतिको अवधारणाबाट प्रभावित भएर आफू उक्त पार्टीमा आबद्ध भएका हुन्। उनले आफ्नो राजनीतिक यात्रा र विचारलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यले रास्वपा रोजेको बताएका छन्।

आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने सम्भावनाबारे उनले पार्टीले टिकट दिए पूर्ण रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिन तयार रहेको स्पष्ट पारे। तर, पार्टीले टिकट नदिए पनि पार्टीको नीति, नियम र सिद्धान्तअनुसार देश र जनताको सेवामा सक्रिय रहने तथा पार्टीको निर्णयलाई स्वीकार गर्ने उनको भनाइ छ।

सरावगीले देशप्रति समर्पित र परिवर्तनकारी सोच भएका व्यक्तिलाई पार्टीले उचित स्थान दिँदै अघि बढ्नुपर्ने धारणा पनि राखेका छन्। उनले राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का विचार र देश विकाससम्बन्धी दृष्टिकोणप्रति आफ्नो प्रतिबद्धता रहेको बताएका छन्।आफ्नो पार्टी आबद्धता र सदस्यताबारे फैलिएका विभिन्न चर्चालाई स्पष्ट पार्दै सरावगीले रास्वपामै रहेर आफ्नो राजनीतिक यात्रा अघि बढाउने संकेत गरेका छन्।


