वीरगञ्ज । दसैँको पावन अवसरमा पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुषिल शाह कानु वीरगञ्ज महानगरपालिका–२५ स्थित मानवसेवा आश्रम पुग्नुभएको छ।

आश्रममा पुग्नुभएका सांसद कानुले त्यहाँ आश्रित असहाय तथा जरूरतमन्द व्यक्तिहरूको निधारमा दसैँको टीका लगाइदिँदै सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभयो। चाडपर्वको अवसरमा परिवार तथा आफन्तबाट टाढा रहेका आश्रमका व्यक्तिहरूसँग खुसी साटासाट गर्दै उहाँले दसैँको शुभकामना व्यक्त गर्नुभएको हो।
सो अवसरमा सांसद कानुले मानवसेवा आश्रमले असहाय, बेसहारा तथा समस्यामा परेका व्यक्तिहरूको सेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले मानवसेवा आश्रमलाई आवश्यक परेको समयमा आफू सधैँ सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै आश्रमलाई आगामी दिनमा अझ धेरै असहाय तथा जरूरतमन्द व्यक्तिहरूको सेवा गर्न प्रेरित गर्नुभयो।
मानवसेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै उहाँले समाजका असहाय, बेसहारा र दुःखमा परेका व्यक्तिहरूलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको सन्देश दिनुभयो।
दसैँको अवसरमा आश्रममा पुगेर टीका लगाइदिने र शुभकामना व्यक्त गर्ने सांसद कानुको यस कार्यले मानवीय सेवा, सामाजिक सद्भाव र आपसी आत्मीयताको महत्त्वलाई थप उजागर गरेको छ।


