गौर, रौतहट। गौर नगरपालिका वडा नम्बर ८ निवासी ५५वर्षीया सुमित्रा महतोलाई सामाजिक अभियन्ता सन्तोष पौडेलले आज ह्विलचेयर हस्तान्तरण गर्नुभएको छ।

प्राप्त विवरणअनुसार, करिब तीन वर्षअघि भएको दुर्घटनाका कारण उहाँको शरीरको पछिल्लो भाग चल्न नसक्ने अवस्था भएपछि उहाँ लामो समयदेखि ओछ्यानमै बस्न बाध्य हुनुभएको थियो। आर्थिक तथा अन्य समस्याका कारण सहज रूपमा उपचार गराउन नसक्नुभएकी महतोलाई दैनिक जीवनयापनमा केही सहजता ल्याउने उद्देश्यले ह्विलचेयर प्रदान गरिएको हो।
ह्विलचेयर प्राप्त भएपछि उहाँलाई घरभित्र तथा घरवरिपरि आवतजावत गर्न सहज हुने र दैनिक जीवनमा केही राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, यसले उहाँको मनोबल बढाउन र परिवारमा निर्भर भएर बस्नुपर्ने अवस्थालाई केही हदसम्म कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
ह्विलचेयर हस्तान्तरण कार्यक्रममा रास्वपा का नगरसभापति सूर्य कुशवाहा, सामाजिक कार्यकर्ता वीरेन्द्र साह, अभिनास साह, सन्दीप जयसवाललगायत स्थानीय व्यक्तिहरूको सहभागिता रहेको थियो।
समाजमा आर्थिक तथा शारीरिक समस्याका कारण कठिन जीवन बिताइरहेका व्यक्तिहरूलाई सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यले पीडित तथा असहाय व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने देखिन्छ।


