वीरगञ्ज । बुधवार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी-६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् ।

बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुँडासहित घर जलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ ।
‘कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले)’, बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्छिन्, ‘आव परिवारके कोना गुजारा चलत-अब परिवारको गुजारा कसरी चल्ला !’
बुधवार लखनदेवी उपचारका लागि भारत गएकी थिइन् । फर्कँदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेसी बेहोस भएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौँको थातथलो देखेर अझै बेचैन छिन् ।
अधिकांश मुस्लिम,धानुक, साह र मलाह जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो । बुधवार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रूप लिँदै ११० घर पूर्ण रूपमा जलेर खरानी बनायो ।आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । सो घटनामा पाँच वटा पशु चौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।
मध्याह्नतिर लागेको भिष्म आगलागी निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म निभाउने गर्नु भएको थियो ।
आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई राहत सामगरी उपलब्ध गराएको थियो । अन्य सङ्घ संस्था, समाजसेवी र स्थानीय व्यापारीलेपनि सहयोग प्रदान गरेका छन् ।त्यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, व्यक्तिहरू र विभिन्न निकायसँग अपिल गरिएको बताए ।


