काठमाडौं । नेपाली सेनाका अमलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले दाङको तुलसीपुरमा छोडपत्र भइसकेकी श्रीमतीको हत्या गरेका छन् ।

अन्दाजी ३० वर्षीया टीका रावत ज्यान जोगाउन डेरा कोठाबाट भागेर छिमेकीको घरमा पुगे पनि शालिकराम त्यहीँ पुगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डी.एस.पी ठाकुरप्रसाद पोखरेलका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भए पनि केही लाख लेनदेन बाँकी नै थियो । आफ्ना सामान लिन भनेर शालिकराम आज बिहान ८ः२५ बजेतिर डेरा कोठामा पुग्दा विवाद भएपछि घटना भएको रहेछ।
सल्यानको कपुरकोट गाउँपालिका ६ घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए ।घटना पछी उनी इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा छन् ।
बुढाथोकीले अछामको कमलबजार नगरपालिका घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापालाई पनि आक्रमण गरी घाइते बनाएका छन् । टाउको र काखीमा चोट लागेका थापाको उपचार जारी छ भने प्रहरीले जनाएको छ ।
सैनिक जवान थापा माथिको आक्रमण र सोही दिन टीकाको हत्या भएको घटनाको सम्बन्ध केलाउँदै अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


