(राम आर्य)
२८ भदौ, वीरगञ्ज । हिजो वीरगञ्जको आईसीपी भन्सार क्षेत्रमा ट्याङ्करले ठक्कर दिएर घाइते बनाएको मोटरसाइकल चालक टिनु कुमार साह तुराहाको मृत्यु भयो | अहिले सो क्षेत्र तनावग्रस्त बनेको हो ।

ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकललाई बिहीबार अपरान्ह करिब साढे ३ बजे ठक्कर दिँदा मोटरसाइकल चालक वीरगञ्ज–१७ अलौंका २२ वर्षिय तुराहाको मृत्यु भएको हो ।


गम्भिर घाईते भएका तुराहाको उपचार गण्डक स्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचार भईरहेको थियो । उपचारकै क्रममा गएराति उनको मृत्युु भएको छ । आज विहान मृत्युको खबरले घटनास्थल आईसीपी भन्सार क्षेत्रमा हजारौंको संख्यामा स्थानियहरु उपस्थित भई प्रदर्शन गरिरहेका छन् ।
ट्याङ्कर चालकको लापरवाहीको कारण दुर्घटना भएको र पछि ट्यांकर चालकले जानीजानी ठक्कर दिएर मारेका भन्दै स्थानियहरु आक्रोसित बनेका छन् । ठक्कर दिने चालकलाई कारवाही र मृतक परिवारलाई क्षतिपुर्तिको माग सहित स्थानियहरु आज विहान देखि नै प्रदर्शनमा उत्रेका छन् ।
ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।


