Lucky-Khabar_

आज विजया दशमी सहि उतम साइत बिहान ११ः३६ बजे

२६असोज,बिरगंज । बडादशैंको मुख्य दिन आज विजया दशमी। यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।

content ad p2

दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ। आज बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, उनले भने।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको समितिले जनाएको छ।

​चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ।

आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ।

महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ। यिनै मन्त्रले आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ।

नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ। अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म टीका, जमरा लगाई आशीर्वाद थापिन्छ।

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि लहानमा तनाव, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

लक्की खबर

धर्मभन्दा माथि राष्ट्रिय एकता : संसदमा नेता रहबर अन्सारीको सन्देश

लक्की खबर

हजारौं श्रद्धालुको सहभागितामा वीरगञ्जमा श्री गहवामाईको चौथो रथयात्रा सम्पन्न

लक्की खबर