२६ असोज,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको डोकैला बहुअरीस्थितको नहरमा मूर्ति सेलाउने क्रममा डुबे १ बालकको मृत्यु भएको छ।

नहरमा मूर्ति सेलाउदा बेपत्ता भएका युवक खोज्ने क्रममा करिब एक घण्टापछाडि मृत भेटिएको प्रहरीले बताएको छ । मृत्यु हुने पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षिय अजितकुमार महत्तो धानुक रहेका जानकारी भएको छ ।

आज दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाँउ नजिकको गण्डक नहरमा दुर्गा माताको मूर्ती सेलाउन साथीहरुसंगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो । नहरमा डुबेका अजितलाई संगै रहेका साथीहरुले उद्धार गरेर नहरबाहिर निकालेपनि उनको मृत्यु भइसकेको थियो ।

घटनास्थलमा प्रहरी पुगेर मृतकको शव पोष्टमार्टमका लागि वीरगन्ज्को नारायणी अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताएको छ ।


