Lucky-Khabar_

५ जना मिर्गौला तस्करी आरोपित पुर्पक्षका लागि थुनामा

५ कात्तिक,काठमाडौं । मिर्गौला तस्करीका २ वटा घटनामा पक्राउ परेका ६ जनामध्ये ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

content ad p2

मिर्गौला तस्करीका २ वटा फरक मुद्दामा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको थियो । जसमा काभ्रेका १ व्यक्तिको मिर्गौला तस्करी घटनामा प्रतिवादी बनाइएका काभ्रेकै कृष्ण विक र ललितपुरका शंकर खत्री यसअघि नै पुर्पक्षका लागि कागार चलान भएका थिए ।

चन्द्रागिरीका अर्का युवकको मिर्गौला तस्करीमा खत्रीसहित बालाजुमा खाजा पसल चलाउने मकवानपुरकी शान्तिमाया घलान, काठमाडौं चन्द्रागिरीका नारायण भनिने नारन परियार, धनुषाका अमन साह, धादिङका कृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका राजकुमार नेपाली भनिने राजकुमार बिसुन्के, धनुषाका विमलप्रसाद साह र धनुषाकै मुकेशकुमार साहविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये राजकुमार, विमलप्रसाद र मुकेशकुमार फरार थिए ।

दोस्रो मुद्दामा पनि प्रतिवादी रहेका शंकर खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले १ लाख धरौटी र शान्तिमायासँग ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बाँकीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएको छ ।

खत्रीलाई दोस्रो मुद्दामा १ लाख धरौटीमा छाड्न आदेश दिए पनि उनी पहिलो मुद्दामा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । यस्तै पहिलो मुद्दाका कृष्ण विक, नारन परियार, अमन साह र कृष्ण श्रेष्ठ गरी पाँच जनालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । शान्तिमाया भने धरौटी तिर्ने प्रक्रियामा रहेको उनले बताए ।

यो समूहले चन्द्रागिरी र काभ्रेका एक–एक जनालाई कोलकाताको अम्री अस्पताल पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोप छ । अहिले पक्राउ परेका मध्ये नारन परियार, कृष्ण श्रेष्ठ, कृष्ण विकले यसअघि आफ्नै मिर्गौला समेत बेचेको खुलेको प्रहरीले जनाएको छ ।

आफ्नो मिर्गौला बेचिसकेपछि अन्य व्यक्तिलाई पनि मिर्गौला बेच्दा केही फरक नपर्ने भन्दै कन्भिन्स गराएर कोलकातासम्म पुर्‍याई मिर्गौला तस्करी गरेको आरोप यो समूहमाथि छ । त्यसका लागि उनीहरुले कोलकातामै फ्ल्याट समेत भाडामा लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सम्बन्धित खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

सिरहाबाट स्वचालित पेस्तोल र म्याग्जिनसहित तीन युवा पक्राउ, अनुसन्धान जारी

लक्की खबर

मलद्वारमा खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका दुई पक्राउ

लक्की खबर