१२कार्तिक,वीरगञ्ज ।वीरगञ्ज बजारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा गरिएको अनुगमनमा दुई मिठाई पसल र दुई थोक फलफूल सप्लायर्सले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै आएको पाइएपछि उनीहरूमाथि कारबाही गरिएको हो ।

वीरगञ्ज महानगरपालिका – १६ नगवा क्षेत्रमा रहेको जय हिमाल मिष्ठान भण्डार र वीरगञ्ज – ६ मिना बजारस्थित गणेश मिष्ठान भण्डारमा गरिएको अनुगमनमा फोहोर वातावरणमा राखिएका तथा बासी रसगुल्ला, पेडा, र बर्फी फेला परेको अनुगमन टोलीले जानकारी दिएको छ । जय हिमाल मिष्ठानमा म्याद सकिएको हाइड्रो पाउडरको प्रयोग भएको र भान्छा अत्यधिक फोहोर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ । पसल दर्ता पनि नगरेर सञ्चालनमा रहेको पाइएको छ ।

जय हिमाल मिष्ठान भण्डारका सञ्चालक जुमादिन मियाँलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ भने अखाद्य मिठाई तत्कालै नष्ट गरिएको छ । यस्तै, गणेश मिष्ठान भण्डारमा पनि खान अयोग्य लड्डु बिक्रीको लागि राखिएको पाइएपछि सञ्चालक जितेन्द्र कलवारलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
त्यस्तै अनुगमन टोलीले मिना बजारका कृष्ण फ्रुट सप्लायर्स र ओम फ्रुट सप्लायर्समा केरा पकाउन विषाक्त रसायन र फिटकीरी प्रयोग गरिएको पाएको छ । दुवै पसल बिना दर्ता सञ्चालनमा रहेको र सञ्चालकहरूलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । विषाक्त फलफूल तत्कालै नष्ट गराइएको अनुगमन टोलीका प्रमुख सुनिल चौरसियाले जानकारी दिए ।
अनुगमनमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, र जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अजित भुजेलले भने, “चाडपर्वको समयमा यस्ता व्यापारिक अनियमितताहरू उपभोक्ताको स्वास्थ्यका लागि घातक हुन् । हामी उपभोक्ताहरूले सजग हुनुपर्छ र यस्ता घटनामा कडा कारबाहीको माग गर्छौँ ।”
अनेकौँ पसलमा भएको अनियमितता देखेपछि वीरगञ्जका उपभोक्ताहरू चिन्तित देखिएका छन् । स्थानीय बासिन्दा सञ्जय गुप्ताले भने, “मिठाई र फलफूलजस्ता वस्तुहरू दैनिक उपभोग्य हुन् । यस्तो अवस्थामा व्यापारीहरूले अनैतिक तरिकाले मुनाफा कमाउन खोज्नु निन्दनीय छ ।” अर्की उपभोक्ता, रमा चौधरीले भनिन्, “अनुगमन त राम्रो भयो, तर यसलाई नियमित रूपमा गरिनुपर्छ । यस्ता व्यवसायीहरूले उपभोक्ताको विश्वास गुमाएका छन् ।”
नेपालको उपभोक्ता संरक्षण ऐन २०७५ का अनुसार, अखाद्य वा म्याद सकिएका वस्तु विक्री गर्नेहरूलाई एक वर्षसम्म कैद र ३ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । उपभोक्तालाई हानि पुर्याउने व्यापारीहरूले थप क्षतिपूर्ति दिनुपर्ने कानुनी प्रावधान पनि ऐनमा उल्लेख गरिएको छ ।
अनुगमन टोलीका प्रमुख सुनिल चौरसियाले उपभोक्ताहरूलाई सचेत रहन र कुनै अनियमितता देखेमा तुरुन्तै सूचना दिन अपिल गरे । “हामी यस्तो समस्या समाधानका लागि अनवरत रूपमा अनुगमन जारी राख्नेछौँ,” उनले भने ।
चाडपर्वको व्यस्ततामा व्यापारीहरू द्वारा उपभोक्ताको स्वास्थ्यमा खेलबाड नगर्न स्थानीय प्रशासन र सरोकारवालाहरूले सचेत गराएका छन् । नियमित अनुगमन र कडा कारबाहीबिना यस्ता समस्याहरू समाधान हुन नसक्ने उपभोक्ता अधिकारकर्मीहरूको तर्क छ ।


