३ पुष, वीरगञ्ज । सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको पाँच महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले ५ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको ५ महिनामा राजस्व सङ्कलनमा कमी आएको जानकारी दिए । कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व सङ्कलन पनि प्रभावित भएको छ ।
चालु आवको साउनमा रु ३ अर्ब ७५ करोड, भदौमा रु ४ अर्ब ६४ करोड, असोजमा रु ४ अर्ब ३६ करोड र कात्तिकमा रु ३ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको कार्यालय जनाएको छ ।

त्यस्तै मङ्सिरमा भने रु ३ अर्ब २२ करोड ८४ लाख २९ हजार मात्र राजस्व सङ्कलन भएको छ ।
कार्यालयले गत आवको ५ महिनामा रु २१ अर्ब चार करोड १६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको थियो ।


