२० पुष, नयाँ दिल्ली ।विश्व हिन्दू महासंघद्वारा पूर्वमन्त्री प्रेम आले र वरिष्ठ मृगौला प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द श्रेष्ठलाई प्रदान गरिने विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान गरिएको छ। भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा शुक्रबार आयोजित विशेष समारोहमा यो सम्मान प्रदान गरिएको हो ।

समारोहमा हिन्दू धर्म संरक्षण एवं सम्बर्धनका अगुवा कालीबाबा, शंकराचार्य, र विश्व हिन्दू महासंघका पदाधिकारीहरुले सो अवार्ड हस्तान्तरण गरे। महासंघले यो अवार्ड हरेक ५ वर्षमा समाजसेवा, राजनीति, र सनातन हिन्दू धर्मको संरक्षणमा विशिष्ट योगदान पुर्याउने विश्वभरका व्यक्तित्वहरुलाई प्रदान गर्दै आएको छ।
पूर्वमन्त्री आले र डा. पुकार चन्द श्रेष्ठलाई हिन्दू धर्मको संरक्षण, सम्बर्धन, र सनातन हिन्दू धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा पुर्याएको योगदानका लागि यो अवार्ड प्रदान गरिएको हो।
त्यस्तै यो अवार्ड प्राप्त गर्ने अन्य विशिष्ट व्यक्तित्वहरुमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतीय समाजसेवी एसएस अग्रवाल र निता अम्बानी, उद्योगपति गीताञ्जली किर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, श्रीलंकाका बौद्ध धर्मगुरु थेरो सुमेधा, र सिंगापुरका आर्या समाज अध्यक्ष ओमप्रकाश राई लगायत रहेका छन्।
पूर्वमन्त्री आलेले विश्व हिन्दू महासंघलाई विशेष धन्यवाद दिँदै, यस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्न पाउँदा अत्यन्तै खुसी लागेको प्रतिक्रिया समारोहमा बोल्दै दिनुभयो। उहाँले आगामी दिनमा पनि हिन्दू सनातन धर्मको रक्षा र सम्बर्धनमा लागिरहने दृढता व्यक्त गर्नुभयो।
समारोहमा विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष तथा भारतका पूर्वमन्त्री डा. अजय सिंह, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झा, हेमानन्द गिरी, भारतका वरिष्ठ समाजसेवी, तथा विभिन्न देशका विशिष्ट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
राजनीति, समाजसेवा, र आध्यात्मिक क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा गौरवान्वित भएको विश्व हिन्दू महासंघका अध्यक्ष डा. अजय सिंहले बताउनुभयो। साथै, खाटु श्याम दिल्ली धाम र महासंघका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।




