२४माघ,बिरगंज|बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५, ईटियाही मेडिकल कालेजको दक्षिणमा श्री शिवशक्ति कोटी होम महायज्ञको बिहीबार विधिवत रूपमा शुभारम्भ गरिएको छ।

महायज्ञ मूल समितिको आयोजनामा सम्पन्न उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई), महायज्ञ मूल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव, वडा नम्बर ५ का अध्यक्ष अमिरी गुप्ता र वडा नम्बर २ का अध्यक्ष मनोज यादवले संयुक्त रूपमा रिबन काटेर महायज्ञको उद्घाटन गरेका हुन्।
प्रचार प्रसार समितिका संयोजक राज सर्राफका अनुसार महायज्ञको पूजा आराधनामा १५ जोडी श्रीमान-श्रीमती जजमानको रूपमा सहभागी भएका छन्। महायज्ञ लगातार २२ दिनसम्म सञ्चालन हुने बताइएको छ।

सो महायज्ञमा सुरक्षालाई ध्यानमा राख्दै ९ ओटा सिसिटिभी क्यामेरा र २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिनेछ। आयोजकका अनुसार महायज्ञ मधेश प्रदेशकै ठूलो धार्मिक कार्यक्रम हो, जसको अनुमानित लागत रु १ करोड ३० लाख रहेको छ।
त्यस्तै बालबालिकाका लागि टावर झुला, मौतका कुवा, सर्कस, नाव झुला, डान्सिङ झुलाजस्ता मनोरञ्जनात्मक व्यवस्था गरिएको छ भने वृन्दावनबाट आएका कलाकारहरूले रामलीला र रासलीलाजस्ता धार्मिक कार्यक्रम प्रस्तुत गर्नेछन्।
महायज्ञ मूल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादवले धार्मिक तथा सामाजिक सहकार्यको उदाहरणका रूपमा महायज्ञलाई सफल बनाउन सबै भक्तजनलाई सहभागिताका लागि आग्रह गरे। कार्यक्रममा गाउँपालिका उपप्रमुख प्रियंका देवी, स्थानीय बुद्धिजीवी, नागरिक समाज, अगुवा कार्यकर्ता, पदाधिकारी तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सबै भक्तजनलाई आयोजकहरूले यस पुण्य कार्यमा सहभागी भई सहयोग गर्न अपिल गरेका छन्।


