३ फागुन,काठमाडौं ।प्रयागराजमा जारी कुम्भ मेला जाँदै गरेका छत्तीसगढका १० जना भक्तजनको दुर्घटनामा परी मृत्यु भएको छ।

दुर्घटनामा १९ जना घाइते भएका छन्। मृतक सबै छत्तीसगढको कोरबा र जांजगिर चम्पा जिल्लाका बासिन्दा थिए भनि भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

कोरबाबाट १० जना श्रद्धालु बोलेरोमा प्रयागराज जाँदै थिए। उत्तर प्रदेशको मिर्जापुर–प्रयागराज राजमार्गमा रहेको मनुका पुरा गाउँनजिकै राति अबेर उनीहरू सवार बोलेरो बससँग ठोकिएको छत्तीसगढ प्रहरी प्रवक्ताले बताएको छ ।
प्रहरीका अनुसार ठोकिँदा बोलेरोको अगाडिको भाग कच्याकुचुक भएको छ भने बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भयो।
उता बसमा सवार १९ यात्रु पनि घाइते भएका छन्। उनीहरूलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।
बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्, जो कुम्भमा नुहाएर वाराणसी फर्किंदै थिए।


