११ चैत,वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) को तेस्रो दिन आइतबार परीक्षा केन्द्रमा अमर्यादित काम गरेको भन्दै वीरगञ्जस्थति सुर्जीदेवीका केन्द्राध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

अनुगमनका क्रममा वीरगञ्जको सुर्जीदेवी माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा परीक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै केन्द्राध्यक्षसहित ५ जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल नेतृत्वको जिल्ला परीक्षा समन्वय समितिको टोलीले पक्राउ गरेको हो ।
अनुगमनका क्रममा परीक्षा समन्वय समितिको टोलीले अनुगमन गर्ने क्रममा परीक्षाको मर्यादा विपरीत काम गरेको फेला पारेपछि केन्द्राध्यक्ष नन्द किशोर रामसहित एक सहायक केन्द्राध्यक्ष, एक निरीक्षक र दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
सिडिओ अर्यालका अनुसार, पाँचै जनालाई अहिले प्रहरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । उक्त परीक्षा केन्द्रमा परीक्षाको मर्यादा विपरीत काम भइरहेको पाइएपछि जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्रको सबै टिम नै परिवर्तन गर्ने तयारीसमेत गरेको सिडिओ अर्यालले बताए ।
यसअघि परीक्षाको पहिलो र दोस्रो दिन पनि पर्सामा परीक्षामा मर्यादा विपरीत काम गरेको भन्दै एक केन्द्राध्यक्ष र ३ जना निरीक्षक कारबाहीमा थिए ।
गत शुक्रवार वीरगञ्जको माइस्थान विद्यापीठ माविको परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयप्रकाश सर्राफलाई परीक्षा समन्वय समितिले कारबाही गर्दै आइतबारदेखि सर्राफलाई परीक्षा केन्द्रमा प्रवेशमा रोक लगाएको छ ।
त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीका निरीक्षक लालबाबु यादव, सिद्धार्थ माविका धर्मेन्द्र यादव र रामबालक यादवलाई पनि कारबाही गरिएको सिडिओ अर्यालले बताए ।




