३१चैत,ललितपुर |नापी कार्यालय ललितपुरमा कार्यरत प्रमुख नापी अधिकृत रमेश ज्ञवालीमाथि विगतदेखि नै गम्भीर भ्रष्टाचार, अनियमितता र दुरुपयोगको आरोप लाग्दै आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको L-80454 को एक उजुरीअनुसार, ज्ञवालीले नापी कार्यालय, कास्कीमा कार्यरत रहँदा पोखरा उपमहानगरपालिका वडा नं. १७ को साबिक सरकारी पर्ती जग्गा मिलाएर छुट दर्ता गर्ने आपराधिक कार्यमा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ।
२०७० सालमा रमेश बहादुर भट्टराईका नाममा हालको पोखराउप-महानगरपालिका वडा नं. १७ नक्सा सिट नं. ०९३१०३९०४ कि.नं. २४७ क्षत्रफल ४०९.५७ वर्ग मी. को जग्गा रमेश बहादुर भट्टराई पोखरा-६ कास्की (बाबु: भक्त बहादुर, बाजे कर्ण बहादुर ना.प।र.प.नं. ८६-०१-१०४७।२०७०।१२।१८ कास्की) को नाउँमा साबिकको सरकारी पर्ती जग्गा कित्ता नं. २९९ संग भिडाई दर्ता गरेको जग्गा दर्ता प्रक्रिया अनियमित देखिएको छ। यस कार्यमा रमेश ज्ञवाली स्वयंले लाखौं रुपैयाँ खर्च गरेर मिलाउन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो कार्य तत्काल रोकिएको बताइएको छ। उजुरीमा उल्लेख भएअनुसार, ज्ञवालीले कास्की कार्यालयमा कार्यरत रहँदा यस्ता धेरै छुट जग्गा दर्ता गराई अकुत सम्पत्ति आर्जन गरेका थिए।


ज्ञवालीले आफन्तजन र नातेदारको नाममा विभिन्न बैक खाताहरुमा भ्रष्टाचारबाट प्राप्त रकम जम्मा गरेर व्यवस्थापन गरेको आरोप पनि उजुरीमा उल्लेख छ। यसैगरी, बसुन्धरामा १० आना जग्गा खरिद गरी महँगो सजावटसहितको घर निर्माण गरिएको पनि उजुरीमा उल्लेख गरिएको छ।
जागिर सुरू गरेको पाँच वर्षको सेवा अवधिमा ज्ञवालीले आफ्नो र आफन्तहरुको नाममा काठमाडौं र अन्य स्थानमा दर्जनौं रोपनी जग्गा जोडेको, बैंक खातामा ठुलो रकम जम्मा गरेको, काठमाण्डौमै आमाबाबुको नाममा घर निर्माण गरेको तथ्य उजागर भएको छ।
त्यसैगरी, भूमि व्यवस्था प्रशिक्षण केन्द्र, धुलिखेलमा २०७६/०७७ देखि २०८० अषोजसम्म कार्यरत रहँदा उनले करिब ६० लाख मूल्यको CORS Station खरिदमा ठेकेदारसँग मिलेमतो गरी व्यापक अनियमितता गरेको भनिएको छ। २०–२५ हजारमै निर्माण गर्न सकिने CORS Station Pillar निर्माणमा करिब ८ लाख खर्च देखाई ठूलो रकम हिनामिना गरेको कर्मचारीहरुको आरोप छ। फील्ड कार्यमा नजाँदै पनि भ्रमण भत्ता बुझ्ने, तालिममा दोहोरो हाजिरी गरेर पैसा असुल्ने जस्ता गतिविधिमा संलग्न भएको उजुरीमा उल्लेख छ।
हाल ललितपुरमा कार्यरत रहँदा पनि ज्ञवालीको चलखेल यथावत् रहेको आरोप लाग्दै आएको छ। कित्ताकाट, टायल चेकजस्ता कार्यमा कार्यालय सहयोगी र फाँटवालाको सहायतामा मोटो रकम असुल्ने, छुट जग्गा दर्ताको नाममा प्रत्येक आना जग्गाबाट ठुलो रकम उठाउने जस्ता कार्य भएको जनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो क्षेत्रको धेरै नातेदारहरु कर्मचारी रहेको दावी गर्दै जस्तो सुकै निकृष्ट कार्य मिलाउन सकिन्छ भन्ने धाक लगाउने गरेको तथा मातहतका कर्मचारीहरुलाई धाक धम्की देखाएर असुली गर्ने, पहुँचको दम्भ देखाउने कार्यसमेत उनले गरिरहेको बताइएको छ। निजको कार्यालयमा प्रत्येक अनियमित कार्य गरेवापत बिभाग, मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउनुपर्ने नाममा समेत थप रकम मातहतका फाँटहरुबाट असुली गर्ने गरेको तथ्य उजागर भएको छ।
उक्त उजुरीले नापी प्रशासनभित्र गहिरोसम्म फैलिएर जरा गाडेको भ्रष्टाचार र त्यसलाई मलजल गरिरहेको राजनीतिक पहुँचको नाङ्गो चित्र उजागर गरेको छ। रमेश ज्ञवालीजस्ता पदाधिकारीले राज्यका सम्पत्तिलाई निजी स्वार्थमा प्रयोग गर्दै सुशासनमाथि कुठाराघात गरेका छन्। यदि अख्तियार लगायत सम्बन्धित निकायले यस्ता गम्भीर अनियमितता र दुरुपयोगमा तुरुन्त निष्पक्ष छानबिन गरी कडा कारबाहीको मार्ग अपनाएनन् भने सुशासन भन्ने शब्द जनताको आँखामा धूलो हाल्ने माध्यम मात्र बन्नेछ।अब ढिलासुस्तीले होइन, कठोर निर्णय र कडाईले मात्र यो रोग हटाउन सकिन्छ।
यसैगरी हाल नापी कार्यालय, भक्तपुरमा कार्यरत प्रमुख नापी अधिकृत प्रदिप कुमार सापकोटाले पनि उपत्यका भित्रका स्मार्ट सिटि भित्र गैरकानुनी तरिकाले कित्ताकाट गरी बिहान बिहान लेखा पढी ब्यवसायीको फर्ममा लाखौ रकम असुली धन्दामा तल्लीन रहेको अवस्थामा भेट्ने गरेको देखिन्छ। निजले आफू कर्मचारी संगठनको स्दस्यको रुपमा परिचय गरी संगठनको समेत बदनाम गर्ने गरेको तथ्य उजागर भएको देखिन्छ। एजेन्सी


