२३ जेठ,बिरगंज ।पर्साको पकहामैनपुरमा आगलागी हुदा दुई घरगोठ जलेर नष्ट र १५ लाख बराबरको जति क्षति भएको छ | पकहामैनपुर गाउँपालिका-०४ खेस्रहा स्थित रामाशंकर गिरीको गोठमा आज बिहान करिब ४:४० बजे विद्युतीय सर्ट भई आगलागी भएको छ।

उक्त आगलागीबाट रामाशंकर गिरी र दरोगा गिरीको घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको पर्सा प्रहरीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बिहान ७:३० बजेतिर दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीमा मानवीय क्षति नभएको जनाइएको छ।
आगोबाट रामाशंकर गिरीको फुसको गोठ र बस्ने घर गरी दुईवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। उक्त घरमा रहेको अन्नपात, लत्ता-कपडा, गहना लगायत अन्दाजी ७ लाख रुपैयाँ बराबरको सामान नष्ट भएको छ। साथै उनको एक भैंसी र पाडो पनि घाइते भएका छन्।
त्यस्तै दरोगा गिरीको पनि फुसको गोठ र बस्ने घर पूर्णरूपमा जलेर नष्ट भएको छ। उक्त घरमा रहेको धान, गहुँ, काठ, भाँडाकुडा र गहना समेत गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
प्रभावित दुवै परिवारलाई तत्काल छिमेकीको घरमा बसोबासको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी)किशोर लम्सालले बताएका छन्।


