१८ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सँग पराजित भएपछि उनी राजीनामा दिनुपर्ने दिनु भएको थियो ।


काङ्ग्रेस पार्टी सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामा दिन भएका हुन् । यससँगै अब बागमती प्रदेशको मुख्यमन्त्री बन्ने बाटो बानियाँका लागि खुलेको छ।

त्यस्तै लामाले राजीनामा दिनुअघि दुईवटा सर्त राखेका थिए, जसमा बानियाँ सहमत भएका छन्। लामाले आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ ग्रहण गराउनुपर्ने र नयाँ सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहकार्य गर्नुपर्ने सर्त राखेका थिए ।
मुख्यमन्त्री लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री पदमा नियुक्त गरेका थिए, तर सत्ता साझेदार एमालेको असन्तुष्टि र प्रदेश प्रमुख बिरामी परेका कारण शपथ रोकिएको थियो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौँबाट आज हेटौँडा फर्किएमा लामाले प्रत्यक्ष राजीनामा बुझाउनेछन्। उनको राजीनामापछि बानियाँलाई मुख्यमन्त्री बनाउने प्रक्रिया अघि बढ्नेछ। बानियाँ बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री बन्नेछन्। यसअघि यि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्मकट्टेल र बहादुरसिंह लामाले यस प्रदेशको सरकारको नेतृत्व गरिसकेका छन्।


