६ भदौ,वीरगञ्ज।पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२ घुसुकपुरको इदगाह चोकबाट श्रोत नखुलेको नगद १४ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२ घुसुकपुरकै ३९ वर्षीय सन्जय साह र बाराको महागढीमाइ नगरपालिका–४ बगडमपुरकाा ४१ वर्षीय सनि कुमार ठाकुर रहेका छन्।

प्रहरीले बिहीबार अपरान्ह वीरगन्ज–२ इदगाह चोकमा भारतबाट आएको बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा ती मोटरसाइकलमा सवार साह र ठाकुरको साथबाट नेपाली १४ लाख १३ हजार ५०० रुपैयाँ बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।

मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइ राखेको अवस्थामा श्रोत नखुलेको नेपाली १ हजार दरका नोट १ हजार थान र ५ सय दरका नोट ८ सय २७ थान गरी कूल १४ लाख १३ हजार ५०० रुपैयाँ बरामद भएको भट्टले बताए। बरामद रकमको श्रोत खुल्न नसकेकाले उक्त रकम हुण्डीको रहेको उनले बताए।

नगद रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।



