वीरगञ्ज ।भोलि सोमबार काठमाडौँमा सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा हुने प्रदर्शनमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लेआफ्नो समर्थन रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले स्वतःस्फूर्त हुन लागेको जेनजीको प्रदर्शनमा आफ्नो भरपुर समर्थन रहेको बताएका हुन् ।
उनले जेनजीहरू २८ वर्ष मुनिहरू हुने र आफू त्यो भन्दा बुढो देखिने भन्दै जेनजीहरूको कुरा बुझ्न मन लागेको पनि बताएका छन् । त्यस्तै उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा जान नमिले पनि समर्थन रहेको भनेका हुन् ।
‘भोलिको र्याली स्पष्ट स्वतःस्फूर्त रूपमा जेनजी को हो?, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतःस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला,’ उनले भनेका छन्, ‘उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’
जेनजीले कस्तो देश चाहेको हो भनेर प्रश्न पनि बालेनले गरेका छन् । उनको प्रश्न छ, ‘प्रिय जेनजी भन्नुस्- तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?’
भोलि सोमबार काठमाडौँको माइतीघरमा जेनजीले सामाजिक सञ्जाल विरोधसँगै भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्दै छन् । यसका लागि सामाजिक सञ्जाल टिकटकमा अभियान नै चलेको छ ।


