राम आर्य
बारा।बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुलमा आइतबार बिहान टिकटक भिडियो बनाउने क्रममा एक युवक खोलामा बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार बिहान करिब ८ः३० बजे पुलबाट खोलामा हाम फालेका २१ वर्षीय बिकी गोस्वामी, (शम्भु गोस्वामीका छोरा) हालसम्म बेपत्ता रहेका छन्।

उनसँगै हाम फालेका २० वर्षीय अनुराग केसरवानी (शंकर केसरवानीका छोरा) भने पौडी खेलेर सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका छन्। प्रहरीका अनुसार दुवै जना मनोरञ्जनका लागि टिकटक भिडियो बनाउन पुलमा पुगेका थिए। तर, खोलामा पानीको तीव्र बहावका कारण दुर्घटना भएको अनुमान गरिएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनी र सशस्त्र प्रहरी बल नेपाल नं. १२ हेडक्वार्टर बाराको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरी विपत् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको करिब एक किलोमिटर क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गरिएको छ।

अर्यालका अनुसार खोलामा पानीको स्तर बढेकाले खोजकार्य कठिन भएको छ। “गोताखोरको सहयोगमा खोजीलाई थप सघन बनाइएको छ,” उनले जानकारी दिए।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले भने, “वर्षाका कारण खोलाको बहाव अत्यधिक भएकाले उद्धारमा चुनौती आइरहेको छ। तर, खोज तथा उद्धार कार्य कुनै पनि अवस्थामा रोकिएको छैन, निरन्तर जारी छ।”
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको र स्थानीय तहसँग समन्वय गरी उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।


