वीरगञ्ज । अस्ति शुक्रवारदेखिको अविरल वर्षाका कारण देशभर बाढी पहिरो र चट्याङबाट दुई दिनमा ४४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरण अनुसार ज्यान गुमाउनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् ।प्राधिकरणका अनुसार पाँचथरमा पहिरोमा परी एक र खोलाले बगाएर एक गरी दुई जनाको ज्यान गएको छ । यस्तै उदयपुरमा खोलाले बगाएर १ जनाको ज्यान गएको छ । रौतहटमा चट्याङ लागेर ३ जनाको ज्यान गएको छ ।

त्यस्तै रसुवामा ४ र इलाममा १ गरी ५ जना हराइरहेका छन् । घाइतेको सङ्ख्या १६ पुगेको छ । घाइतेमध्ये इलाममा ८, भोजपुरमा ३, खोटाङमा ३, पाँचथरमा १ र मकवानपुरमा १ जना रहेका छन् ।

इलामको माङसेबुङमा अत्यधिक वर्षाका कारण अलपत्र परेका २ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वर्षाकैबीच पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाले पनि ज्यान गुमाएका छन् ।


