काठमाडौं । सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘#ArrestKPOli’ नामक अभियान तीव्र बनेको छ। जेनजी आन्दोलनका अगुवाहरूले गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले गरेको दमनको राजनीतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकले लिनुपर्ने माग गर्दै अभियान अघि बढाएका हुन्।

आन्दोलनका क्रममा थुप्रै युवा घाइते भएपछि ‘न्यायको खोजी र जिम्मेवार नेतृत्वको माग’ भन्ने नारासहित अभियान सुरु गरिएको हो। अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ।” उनले मधेश आन्दोलनका बेला ओलीको विवादास्पद अभिव्यक्तिको पनि स्मरण गर्दै न्यायको माग गरेकी छन्।
अर्का अभियन्ता युजन राजभण्डारीले बमको भनाइ समर्थन गर्दै लेखेका छन्, “हरेक गोलीको हिसाब हुनेछ। #ArrestKPOli।” उनीसँगै सयौँ अभियन्ता र सर्वसाधारणले पनि सामाजिक सञ्जालमार्फत् ऐक्यबद्धता जनाएका छन्।
कतिपयले तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि समेत मुद्दा दायर गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार,आन्दोलनको पहिलो दिनमै सुरक्षाकर्मीले बर्बरतापूर्वक बल प्रयोग गरी निर्दोष विद्यार्थीहरूलाई निशाना बनाएका थिए।
केही समय शान्त देखिएको जेनजी आन्दोलन पछिल्लो डिजिटल अभियानका कारण पुनः सक्रिय बन्दै गएको छ। यो अभियानले राजनीतिक नेतृत्वमाथि दबाब थप्दै सरकारसमक्ष निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग पुनः तीव्र पारेको छ।
#जेनाजी #ArrestKPOli




