वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले “गुटबन्दी र खुट्टा तानातान रोकेर देश विकासमा जुटौँ”जेन-जीहरूसँग अपिल गरेको छ | जेन-जीसहित राष्ट्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई गुटबन्दी र खुट्टा तानातान रोकेर देश विकास र सार्वभौमसत्ताको रक्षामा एकताबद्ध हुन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले नेपालको इतिहासमा गुटबन्दीले पुर्याएको क्षति स्मरण गर्दै एकताको महत्त्वबारे ६ बुँदे सुझावसहितको सन्देश जारी गरेका छन् । “राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातानले फाइदा होइन, नोक्सान मात्र हुन्छ । इतिहासबाट पाठ सिकेर जेन-जीसहित सबै नेपाली एकजुट होऔँ,” उनले लेखेका छन् ।

नेपालको इतिहासमा गुटबन्दीको दुखद प्रभावलाई जोड मन्त्री पुनले दिए । नाबालक राजा रणबहादुर शाहको पालामा प्रतिनिधित्वको विवादबाट सुरु भएको गुटबन्दीले गीर्वाण युद्धविक्रम र राजेन्द्रविक्रम शाहको समयमा चरम रूप लिएको उनले उल्लेख गरेका छन् । यसले नेपाली जनतालाई १०४ वर्षसम्म निरङ्कुश राणातन्त्रको सास्ती खेप्न बाध्य बनाएको उनको भनाइ छ ।
त्यसैगरी, मन्त्रि पुनले राणातन्त्रमा पनि वीर समसेरको पालादेखि राणाहरूलाई क, ख, ग वर्गमा बाँडेर गुटबन्दी सुरु भएको र एक गुटले अर्कोलाई कमजोर बनाउन खुट्टा तानातान गरेको बताएका छन् । यसले राणाहरूलाई कमजोर बनाएको र २००७ सालको जनक्रान्तिमा उनीहरूको शासन ढलेको उनले स्मरण गरेका छन् ।

प्रजातन्त्रको घोषणा भएको २००७ देखि २०१५ सम्म पनि राजनीतिक दलहरूबिचको खुट्टा तानातानले संसदीय चुनाव हुन ढिलाइ भएको मन्त्री पुनको भनाइ छ । यसले राजा महेन्द्रलाई २०१५ मा गठन भएको बहुमतको सरकार विघटन गरी पञ्चायती व्यवस्था ल्याउने अवसर दिएको उनको कथन छ ।

पञ्चायतकलामा पनि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, मरीचमान सिंहजस्ता गुटहरूबिच खुट्टा तानातानले व्यवस्थालाई कमजोर बताउँदा २०४६ को आन्दोलनमार्फत पञ्चायत ढाल्न सहयोग पुर्याएको उनले बताएका छन् ।
त्यस्तै, २०४६ देखि २०८२ सम्म राजनीतिक दलहरूमा चरम आन्तरिक गुटबन्दी र भ्रष्टाचारले जनतामा आक्रोश बढ्दा परिणामस्वरूप जेन-जी आन्दोलनको विस्फोटन भएको उनले दाबी गरेका छन् ।
मन्त्री पुनले जेनजीलाई कुनै राजनीतिक सङ्गठन नभई सुशासन र समृद्ध नेपालको सपना बोकेको युवा समूहको रूपमा चित्रण गर्दै भनेका छन्, “जेनजीहरूले देशमा सुशासन र भ्रष्टाचारमुक्त समाज चाहेका छन्, तर यो सपना पूरा गर्न एकता आवश्यक छ । गुटबन्दी र खुट्टा तानातानले इतिहास दोहोरिन सक्छ,” उनले चेतावनी दिएका छन् । उनले जेन-जीलाई इतिहासबाट पाठ सिकेर एकताबद्ध भएर अगाडि बढ्न र गुटबन्दीको प्रवृत्तिलाई रोक्न विनम्र अनुरोध गरेका छन् ।




