बिरगंज | पर्सा र बारामा फैलिएको हैजा नियन्त्रण गर्न नेपाल सरकारले असोज २६ गतेदेखि व्यापक खोप अभियान सुरु गरेको छ। वीरगञ्जमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले खोप खाएर अभियानको शुभारम्भ गरे।

स्वास्थ्य कार्यालयका अनुसार, कात्तिक २ गतेसम्म चल्ने अभियानमा ६ लाख ५४ हजार जनालाई इयूभिकोल–एस खोप दिइनेछ, जसका लागि १,९५० खोप केन्द्र र १,८९४ जनशक्ति परिचालन गरिएको छ।

अभियान अन्तर्गत पर्साका सबै १४ वटै पालिकामा गरी १ वर्षमाथिका ६ लाख ५४ हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ । यसका लागि पालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, विद्यालय, मन्दिर, मस्जिद, चर्च, बसपार्क, उद्योग–कलकारखाना, नेपाल–भारत सीमा नाकालगायत स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।यो खोप १ वर्षमाथिका सबैका लागि हो। पर्सामा हालसम्म २४५ जना संक्रमित भए पनि सबै निको भएका छन्।
अभियानलाई स्वास्थ्य मन्त्रालय, डब्लुएचओ र युनिसेफको सहयोगमा सञ्चालन गरिएको हो। खोप दुई हप्तापछि ८२% प्रभावकारी हुने र तिहारअघि नै सबै स्थानीय तहमा पूरा गर्ने लक्ष्य राखिएको छ।


