२७ असोज, काठमाडौं। काठमाडौंको बिजुलीबजार पुलमा कम्मरमा पेस्तोल बोकेको भाइरल भिडियो हालको जेन–जी आन्दोलनको समयको नभई झूटो भएको प्रहरी अनुसन्धानबाट स्पष्ट भएको छ।

प्रहरीले ‘टिओबी’ समूहका ३० वर्षीय सदस्य तेन्जेन दावालाई पक्राउ गरी अनुसन्धान गर्दा उनको साथबाट एक थान नक्कली पेस्तोल बरामद गरिएको जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको प्रारम्भिक अनुसन्धान अनुसार उक्त भिडियो करिब एक वर्ष पुरानो रहेको पाइएको हो।

सो भिडियोमा ‘टिओबी’ लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर देखिएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको थियो। तर, प्रहरीले पुष्टि गरेको छ—तेन्जेनले सामाजिक सञ्जालमा ध्यान खिच्ने उद्देश्यले नक्कली पेस्तोल प्रदर्शन गर्दै भिडियो बनाएका हुन्।

तेन्जेनले भिडियो आफूले ‘एडी’ नामक टिकटक खाताबाट अपलोड गरेको र पछि साथीको आग्रहमा हटाएको स्वीकार गरेका छन्। प्रहरीले उनको तिब्बतीयन मूलसँग सम्बन्ध रहेको पुष्टि गरे पनि उनलाई “फ्रि तिब्बत” समूहको एजेन्ट नभई केवल समर्थक मात्र भएको बताएको छ।
ट्याटु आर्टिस्टका रूपमा काम गर्ने तेन्जेन बाइक राइडरहरूको समूहमा पनि सक्रिय छन्। उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्—जेन–जी आन्दोलनका क्रममा “बाइक पड्काएर र भाइरल हुने” उद्देश्यले सहभागी भएको।
अनुसन्धानमा तेन्जेनको मोबाइलमा कुनै आपराधिक गतिविधिको प्रमाण फेला नपरेको प्रहरीले जनाएको छ। यद्यपि, नक्कली पेस्तोल देखाएर समाजमा त्रास फैलाउने कार्यमा संलग्न रहेको ठहर गर्दै उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरिएको छ।


