रामआर्य
बिरगंज । पर्सामा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा“नागरिक प्रहरी सहकार्य: सुरक्षाको लागि अपरिहार्य” भन्ने मूल नाराका साथपनि ७०औं प्रहरी दिवस–२०८२ भव्य रूपमा मनाइएको छ।

प्रहरी दिवसकाे अवसरमा शुक्रबार आयोजित समारोह वीरगंजस्थित नेपाल प्रहरी प्रदेश कार्यालय परिसरभित्र रहेको अमर प्रहरी स्मारकमा सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायी शान्ति र सुरक्षाको वातावरण कायम रहन सक्ने बताउँदै प्रहरी सेवाप्रति सम्मान र कृतज्ञता व्यक्त गरे ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठकले ७०औं प्रहरी दिवसले प्रहरी संगठनलाई अझ जिम्मेवार, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै समाजका सबै पक्षसँग सहकार्य र सहयोगको आग्रह गरे ।
कार्यक्रममा उपस्थित पूर्व प्रहरी कर्मचारी, अमर शहीद प्रहरीका परिवारजन, सि.प्र.अ./जु.प्र.अ., मातहत प्रहरी कार्यालयका सम्पूर्ण प्रहरी अधिकृत, प्रहरी तथा कर्मचारीहरूले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे । अमर शहीदका परिवारजनहरूलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो।

प्रहरी उपरिक्षक पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, सशस्त्र प्रहरी उपरिक्षक पुरन चन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षकद्वय किशोर लम्साल, हरि बहादुर बस्नेत, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निरोज चौलागाईं, इलाका प्रहरी कार्यालय पाेखरिया प्रमुख प्रहरी निरिक्षक स्वरुप शर्मा लगायतका प्रहरी अधिकृत, प्रहरी, संचारकर्मी र समाजसेवीहरुकाे उपस्थिति रहेका थिए।

सो अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, श्रवणबहादुर रायमाझी तथा विभिन्न संघ–संस्थालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। प्रहरी सेवामा उल्लेखनीय योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई पनि प्रशंसापत्र र प्रमाणपत्र प्रदान गरिएको थियो।


