Lucky-Khabar_

वीरगंजको सिर्सिया नदी प्रदूषणको विरोधमा उद्योगका लेखापालमाथि कालो मोबिल छ्यापियो

वीरगंज ।वीरगंज महानगरपालिका–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका लेखापालमाथि सिर्सिया नदी प्रदूषणका कारण आक्रोशित स्थानीयवासीहरूले कालो मोबिल (मोसाे) छ्यापेका छन्।

content ad p2

कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल ल्युब्रिकेन्ट’ तयार गर्ने क्रममा प्रयोग भएका रासायनिक फोहोर पदार्थहरू प्रशोधन नगरी सिधै सिर्सिया नदीमा मिसाइँदा नदी अत्यधिक प्रदूषित र दुर्गन्धित बनेको छ । छठ पर्व नजिकिँदै गर्दा यसले व्रतालुहरू र स्थानीय बासिन्दाको स्वास्थ्यमा जोखिम पुर्‍याउने भन्दै लामो समयदेखि प्रदर्शन हुँदै आएको थियो स्थानीयवासीका भनाई छ ।

एक सातादेखि जारी विरोध प्रदर्शनको क्रममा शुक्रबार करिब ३०–४० जना स्थानीयको समूह कम्पनी परिसरमा प्रवेश गरी हो-हल्ला गरेका थिए । सो क्रममा कम्पनीका लेखापाल जीतपुर निवासी काशीनाथ तिवारीमाथि कालो मोबिल छ्यापिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

एक मिडियालाई तिवारीले अन्तर्वार्ता दिँदै गल्तीवश फोहोर पानी नदीमा मिसिएको स्वीकार गर्दै आगामी दिनमा यस्तो नदोहोर्‍याउने प्रतिबद्धता जनाइरहेका बेला स्थानीय युवाहरूले उनको जवाफप्रति असन्तुष्टि जनाउँदै मोबिल छ्यापेका थिए।

प्रहरी नायब उपरीक्षक हरि बस्नेतका अनुसार घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता घटनामा पीडितले अहिलेसम्म औपचारिक उजुरी नदिएको भए पनि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

‘पहिले पनि उद्योग र स्थानीयबीच फोहोर पानी नदीमा नहाल्ने सहमति भएको थियो,’ बस्नेतले भने, ‘तर पुनः त्यही समस्या दोहोरिएपछि विवाद भएको रहेछ । यदि मोबिल छ्याप्ने घटना प्रमाणित भयो भने कानुनी दायरामा ल्याइनेछ।’

मधेस प्रदेशमा छठ पर्व नदी किनारमै मनाइने भएकाले सिर्सिया नदीको प्रदूषणले धार्मिक र सार्वजनिक स्वास्थ्य दुवै पक्षमा चिन्ता थपेको स्थानीयहरूले बताएका छन् ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर