Lucky-Khabar_

बिरगंजमा छठघाटको सुरक्षामा त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरूको प्रतिबद्धता

वीरगञ्ज ।बिरगंजमा छठघाटको सुरक्षामा त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरूको प्रतिबद्धता जनाएको छ | जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले छठ पूजाका लागि देशभर प्रसिद्धी कमाएको वीरगञ्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा ब्रतालु तथा भक्तजनहरूको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रतिबद्धता जनाएका छन्।

content ad p2

सुरक्षा प्रमुखहरूले घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले शनिबार आयोजना गरेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा छठघाटमा सुरक्षाका सवालमा कुनै त्रुटी हुन नदिने आश्वासन दिएका हुन्। घडिअर्वा छठघाटमा यस वर्ष १ लाख ५० हजार बढी भक्तजनहरू पुग्ने अनुमान गरिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदीले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठघाटको सुरक्षा रणनीति तय गरिने र त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गरिने बताए। उनले लाखौंको भीड व्यवस्थापन, सम्भावित दुर्घटनाको जोखिम टार्न लगायतका सुरक्षा चुनौतीहरूप्रति प्रशासन गम्भीर रहेको दोहोर्‍याए।

बैठकमा पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले आयोजक समितिका स्वयंसेवकहरूसँग समन्वय गरेर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाउने बताए। उनले छठघाट परिसरमै एक प्रहरी अधिकृतको कमाण्डमा सीसीटीभी कन्ट्रोल रुम स्थापना गरिने र आवश्यक प्रहरी टोली परिचालन गरिने जानकारी दिए।

त्यसैगरी , सशस्त्र प्रहरी उपरीक्षक (एसएसपी) पुरनचन्द भट्टले पनि घठघाटको सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालन गरिने बताए। पोखरीको ठूलो जलाशयलाई ध्यानमा राख्दै उनले मोटरेबल बोटसहितको टोली र महिला सुरक्षाकर्मीसमेत खटाइने जानकारी दिए।

विगतको भन्दा अझ प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउने प्रयास भइरहेको घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले बताए। समितिको सुरक्षा उपसमितिका मुना साहले छठघाट परिसरभित्र र बाहिर गरी २० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको र घडिअर्वा स्पोट्र्स क्लबका ६० जना स्वयंसेवक परिचालन गरिने जानकारी गराए।

घडिअर्वा स्पोर्ट्स क्लबका प्रभाकर गुप्ताले सम्भावित दुर्घटनालाई मध्यनजर गरी छठघाट परिसर बाहिर एम्बुलेन्स, बारुण यन्त्र (दमकल) र प्राथमिक उपचार शिविरको समेत व्यवस्था गरिने बताए।

समितिका अध्यक्ष साहको अध्यक्षतामा भएको बैठकमा वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणका गणपति, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, पूर्व वडाध्यक्ष, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुख, समितिका पदाधिकारी तथा घडिअर्वा स्पोट्र्स क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर