काठमाडौं । भारतले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै शृङ्खलाको समापन जितसँग गरेको छ।

अस्ट्रेलियाले दिएको २ सय ३७ रनको लक्ष्य भारतले ३८ ओभर ३ बलमै १ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान रोहित शर्माले १ सय २५ बलमा नटआउट १ सय २१ रनको शान्दार शतक प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए। उनका साथमा विराट कोहली ७४ रनमा अविजित रहे। यो रोहितको एकदिवसीय करियरको ३३औं शतक हो।

अस्ट्रेलियाका जोश हेजलवुडले एक मात्र विकेट लिएका थिए।
यस जितसँगै विराट कोहलीले श्रीलङ्काका कुमार सङ्गाकारालाई पछि पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीहरूको सूचीमा दोस्रो स्थान ओगटेका छन्। उक्त सूचीको शीर्ष स्थानमा भारतकै सचिन तेन्दुलकर रहेका छन्।

यसअघि सिड्नीमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४६ ओभर ४ बलमा २ सय ३६ रनमै अलआउट भएको थियो। अस्ट्रेलियाका म्याट रेनशाले ५६ रन र कप्तान मिचेल मार्शले ४१ रन बनाए। भारतका तीव्र बलर हर्षित राणाले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे।
यद्यपि, अस्ट्रेलियाले यसअघि नै शृङ्खला जितिसकेको थियो। उसले पहिलो खेल ७ विकेटले र दोस्रो खेल २ विकेटले जितेको थियो।
अब दुबै टोलीबीच आउँदो बुधबारदेखि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुनेछ।


