काठमाडौं । भारतको बिहारमा आगामी १० दिनपछि २४३ सदस्यीय विधानसभा निर्वाचन हुँदैछ। निर्वाचन दुई चरणमा आयोजना हुनेछ—पहिलो चरणको मतदान नोभेम्बर ६ र दोस्रो चरण नोभेम्बर ११ मा हुनेछ। मतगणना नोभेम्बर १४ मा तय गरिएको छ। राज्यमा ७ करोड ४२ लाख मतदाता रहेका छन्।

नौ पटक मुख्यमन्त्री भइसकेका जनता दल (युनाइटेड) का नितिश कुमार र युवा नेता तेजस्वी यादवको प्रत्यक्ष प्रतिस्पर्धा हुने छ। तेजस्वी यादवले राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको ‘महागठबन्धन’बाट मुख्यमन्त्री उम्मेदवारी दिएका छन् भने नितिश कुमार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को तर्फबाट प्रतिस्पर्धा गर्दैछन्।यो निर्वाचन राजनीतिक दृष्टिले विशेष महत्त्वको छ।
यो निर्वाचनमा एनडीएले १०१ सिटमा भाजपा र जनता दल (युनाइटेड) बाट उम्मेदवार उठाएको छ। लोक जनशक्ति पार्टी (राम विलास) २९, राष्ट्रिय लोक मोर्चा ६ र हिन्दुस्तानी आवाम मोर्चा ६ सिटमा उम्मेदवार प्रस्तुत गर्दैछ।
महागठबन्धनतर्फ आरजेडीले १४३ सिटमा उम्मेदवार दिएको छ। कांग्रेस ६१, भारतीय कम्युनिस्ट पार्टी ९, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) ४, कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) २० र विकासशील इन्सान पार्टी १५ सिटमा उम्मेदवार उठाएका छन्।
यो चुनाव युवा बनाम अनुभव, नवप्रवर्तन बनाम स्थापित शक्ति, र राजनीतिक स्थायित्व बनाम परिवर्तनको परीक्षण हुने अवसरका रूपमा राजनीतिक विश्लेषकहरूले हेरिरहेका छन्।


