जनकपुर | मधेश प्रदेशको राजनीतिक संकट अझै गहिरिँदै गएको छ। नेकपा (एमाले) का नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उत्पन्न विवाद अहिले हिंसात्मक रूप लिन पुगेको छ।

सूत्रका अनुसार, आक्रोशित दलका नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै त्यहाँ रहेका एक कर्मचारीमाथि समेत कुटपिट गरेका छन्। भिडियो फुटेजमा देखिएअनुसार, ती कर्मचारीले रेकर्ड फाइल जोगाउने प्रयास गर्दा उनको टाउकोमा मुक्का प्रहार भएको छ, जसपछि उनका सहकर्मीहरूले उनलाई सुरक्षित स्थानतर्फ लगेका छन्।

यसअघि, कांग्रेससहितका विपक्षी सांसदहरूले मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड गर्दै राष्ट्रिय झण्डा फ्याँकेका थिए। बाहिर भने मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरिएको छ।

राजनीतिक तनावको मूल कारण प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यशैली भएको बताइन्छ। उनले बिहान “उपचारका लागि काठमाडौं जाँदैछु” भन्दै निवासबाट निस्किए पनि बीचमा महोत्तरीको बर्दिबासस्थित होटलमा पुगेर एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीको रूपमा शपथ गराएकी थिइन्।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उक्त कदमलाई “मधेशको अस्मिता माथिको प्रहार” भन्दै तीव्र प्रतिक्रिया दिएका छन्।
यस्तै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भने यो परिस्थितिलाई “मधेशलाई स्वायत्त घोषणा गर्ने अवसर” भन्दै प्रदेशसभाको बैठक सडकमै डाकेर भए पनि स्वायत्तता घोषणा गर्नुपर्ने आह्वान गरेका छन्।यो घटनाक्रमले मधेश प्रदेशमा सत्ता संघर्ष मात्र होइन, संविधानिक व्याख्या र राजनीतिक स्थायित्व दुवैको गम्भीर प्रश्न उठाएको छ।


