Lucky-Khabar_

पर्सामा सामाजिक सञ्जाल प्रयोग गरी ठगी र अवैध वित्तीय कारोबारमा संलग्न तीन जना पक्राउ

वीरगञ्ज । सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाईपर्सा प्रहरीले पक्राउ गरेको छ। । यस समूहले विभिन्न व्यक्तिहरूलाई लोभ–लालच देखाई फेसबुक तथा अन्य अनलाइन प्लेटफर्ममार्फत खाता खोलाउने, फिसिङ, ओटीपी फ्रड, नक्कली जागिर दिने प्रलोभन जस्ता गतिविधि सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा बाराको विश्रामपुर गाउँपालिका–२ का २१ वर्षीय राहुल मण्डल, वीरगञ्ज महानगरपालिका–२९ मुसौली टोलका ३५ वर्षीय कृष्णप्रसाद साह तथा सोही स्थानका १४ वर्षीय एक नाबालक रहेका छन्। उनीहरूलाई कात्तिक २६ गते दिउँसो १२ बजे वीरगञ्ज–८ स्थित प्रभु अस्पताल अगाडिको सडकखण्डबाट पक्राउ गरिएको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको अनुसार, पक्राउ परेकाहरूले सर्वसाधारणलाई ‘अनलाइन खाता खोली कमिशन कमाउने’, ‘अन्तर्राष्ट्रिय जागिरका अवसर’ र ‘अनलाइन व्यापारमा लगानी’जस्ता प्रलोभनमा पारेर उनीहरूका बैंक खाता, डिजिटल वालेट तथा व्यक्तिगत विवरण संकलन गर्थे। सो विवरण प्रयोग गरी उनीहरूले अवैध वित्तीय कारोबार गर्ने, रकम तानातान गर्न सहयोग पुर्‍याउने र अन्तर्राष्ट्रिय सञ्जालसँग मिलेर रकम सर्कुलेसन गर्ने गतिविधि सञ्चालन गर्दै आएको पाइएको छ।


प्रहरीका अनुसार समूहले विभिन्न व्यक्तिका बैंक खाता र मोबाइल वालेट प्रयोग गरी अहिले सम्म १० करोड रुपैयाँभन्दा बढी रकम आवत–जावत गरेको तथ्य खुलेको छ। यसरी कारोबार भएको रकमको स्रोत शंकास्पद रहेको तथा साइबर क्राइमलगायत विभिन्न वित्तीय अपराधसँग सम्बन्धित रहेको आशंका गरिएको छ।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरूबाट विभिन्न बैंकका ४३ वटा एटीएम कार्ड बरामद गरेको जनाएको छ। यी कार्डहरू कसरी प्राप्त गरिए, कसका नाममा दर्ता छन्, र कुन माध्यममार्फत रकम कारोबार भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद थप गरी उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको छ। यस क्रममा डिजिटल उपकरण, मोबाइल, बैंक खाता तथा नेटवर्क ट्रान्जेक्सनको विवरण पनि खोतलिने तयारी भएको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा पीडितले समयमा नै जानकारी गराए रकम जोगिन सक्ने बताउँदै, पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार, ठगी भएको ४८ घण्टाभित्र सम्बन्धित बैंक वा नेपाल प्रहरीको नम्बर १०० मा सम्पर्क गरेमा ठगी गरिएका रकम फिर्ता ल्याउन सकिने सम्भावना धेरै हुन्छ। उनले साइबर अपराधमा संलग्न समूहहरू सक्रिय भएको बताउँदै, यस्ता घटना देखिए तत्काल सूचना दिनुपर्ने आवश्यकता औंल्याए।

प्रहरीले सामाजिक सञ्जालमा अनजान व्यक्तिसँग व्यक्तिगत विवरण, बैंक खाता नम्बर, ओटीपी, पासवर्ड वा अन्य गोप्य जानकारी नदिन अनुरोध गरेको छ। अनलाइन खाता खोलिदिने, ‘सजिलो कमाइ’को प्रलोभन तथा ‘जागिर पाइदिन्छु’ भन्ने छलकपटमा नपर्न चेतावनी दिइएको छ।

सम्बन्धित खबर

पर्सा ट्राफिक प्रहरीको‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ अभियान, चालकलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रम

लक्की खबर

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई राहदानी कसुर मुद्दामा पक्राउ

लक्की खबर

दाह्रा काटिएपछि ‘ध्रुवे’ को गतिविधि निकुञ्जभित्रै सीमित, उच्च सतर्कतामा प्रशासन

लक्की खबर