रौतहट| आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ बाट डा. फिरदोस आलमलाई एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ। डा. फिरदोस हालै दिवंगत पूर्वमन्त्री मोहम्मद आफताब आलमका छोरा हुन्।

क्षेत्रीय कार्यकर्ता भेलाले बिहीबार सर्वसम्मत निर्णय गर्दै डा. फिरदोसको नाम केन्द्रमा पठाएको क्षेत्रीय सभापति शेख फैजुल्लाहले जानकारी दिए। उनका अनुसार समानुपातिकतर्फ रामलोचन कलवार, रामचन्द्र गिरी, शेख रसिद अली, गृषनन्दन सिंह, शोभा कुमारी र खुसबुनेसा खातुनको नाम पनि सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।

भेलामा स्थानीय तहका पदाधिकारी, वडा प्रतिनिधि तथा क्षेत्रीय कार्यकर्ताहरूको उपस्थिति थियो। क्षेत्र नम्बर २ मा दिवंगत नेता आलम लगातार विजयी हुँदै आएका थिए। तीन साताअघि उनको निधनपछि यस क्षेत्रको उम्मेदवार चयनमा विशेष चासो रहेको थियो।

चार निर्वाचन क्षेत्र रहेको रौतहटमा बाँकी तीन क्षेत्रका लागि भने उम्मेदवारमा सहमति जुट्न बाँकी छ। भेलाहरू बसे पनि ती क्षेत्रमा सर्वसम्मत नाम तय हुन नसकेको कांग्रेस नेताहरू बताउँछन्।


