Lucky-Khabar_

वीरगञ्जमा रास्वपाको पहिलो महानगर भेला, अमन आलमको नेतृत्वमा २५ सदस्यीय समिति चयन

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वीरगञ्ज महानगरपालिकामा आफ्नो संगठन थप सुदृढ बनाउने उद्देश्यसहित सोमबार पहिलो महानगर भेला सम्पन्न गरेको छ । उक्त भेलाबाट युवा नेता अमन आलमको नेतृत्वमा २५ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा गठन गरिएको हो ।

content ad p2

नवगठित समितिको उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ र सहसचिवमा मुना साह चयन भएका छन् । रास्वपा पर्साका अध्यक्ष हरि पन्तले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । पार्टीका नीति, सिद्धान्त र उद्देश्यलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय कार्यवाहक सभापति तथा पूर्वमन्त्री डीपी अर्यालले आगामी निर्वाचनमा रास्वपाले दुई तिहाइ बहुमत हासिल गर्ने दाबी गरे । वर्तमान राजनीतिक अवस्थाले जनताको भरोसा रास्वपामाथि केन्द्रित भएको उनको भनाइ थियो । उनले निवर्तमान सरकारले निरङ्कुश शैली अपनाउँदै जनादेश गुमाइसकेको आरोप पनि लगाए ।

अर्यालले पर्सा जिल्ला र वीरगञ्ज महानगर देशकै आर्थिक तथा औद्योगिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै यहाँको उद्योग, व्यवसाय र बजार प्रवर्द्धन रास्वपा नेतृत्वको भावी सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए । “वीरगञ्जले देशलाई धेरै दिएको छ तर त्यसअनुसारको प्रतिफल पाउन सकेको छैन,” उनले भने, “प्रतिनिधिसभा निर्वाचनपछि बन्ने रास्वपा नेतृत्वको सरकारले वीरगञ्जमाथि भएका सबै विभेदको हिसाब गर्दै विकासका काम अगाडि बढाउनेछ।”

कार्यक्रमका क्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का वीरगञ्ज महानगर उपाध्यक्ष परवेज आलम रास्वपामा प्रवेश गरेका छन् । मधेस केन्द्रित दलहरूले मधेसी मुद्दालाई सत्तामा पुग्ने साधन मात्र बनाएको आरोप लगाउँदै उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपा रोजेको बताए । आफूहरूसँगै सयौँ युवाहरू पनि रास्वपासँग जोडिन इच्छुक रहेको उनले दाबी गरे ।

कार्यक्रमको समापन सत्रमा जिल्ला सभापति हरि पन्तले पर्सा मात्र नभई समग्र मधेस प्रदेशमै रास्वपाप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको बताए । संघर्षपूर्ण यात्रापछि रास्वपा पर्सामा जिल्लाकै ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै गएको उनको भनाइ थियो । उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट रास्वपाले उम्मेदवार उठाउने जानकारी पनि दिए ।

पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, केन्द्रीय सदस्य डा. नन्दन यादव, मधेस प्रदेश महामन्त्री मनिष साह, प्रचार विभाग प्रमुख रामकुमार सर्राफ तथा क्षेत्रीय सभापतिहरू राम आर्य, फैयाज आलम, जितेन्द्र मिश्र र मनोजकुमार कुर्मीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन रास्वपा नेता कृष्णा पासवानले गरेका थिए भने रञ्जित राम, प्रमोद रायमाझी र सबु कडेंल सदस्य रहेको निर्वाचन मण्डलले सम्पूर्ण नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको थियो । भेलाले वीरगञ्जमा रास्वपाको संगठन विस्तार र राजनीतिक सक्रियतामा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर