Lucky-Khabar_

रवि–बालेन छलफलको केन्द्रः प्रधानमन्त्री को ?, अन्य एजेन्डामा पनि गहिरो संवाद

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सम्भावित एकता र आगामी सत्ता समीकरणबारे ज्वागलमा करिब अढाई घण्टा लामो छलफल भएको छ । छलफलको मुख्य केन्द्र आसन्न चुनावपछिको सरकार र त्यसको नेतृत्व को गर्ने भन्ने विषयमा केन्द्रित रह्यो ।

content ad p2

साथी कुमार बेनको ज्वागलस्थित निवासमा भएको भेटमा रविले पार्टी एकताका सन्दर्भमा लचकता देखाउँदै पार्टी नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातजस्ता विषयमा प्रस्ताव राखेका थिए । स्रोतका अनुसार उनले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची बनाउने प्रस्तावसहित नन–पेपरसमेत प्रस्तुत गरेका थिए । आवश्यक परे उक्त अनुपात हेरफेर गर्न सकिने संकेत पनि उनले दिएका छन् ।

बालेनले भने समानुपातिक सूचीभन्दा बढी नेतृत्व र राजनीतिक सन्देशमा चासो देखाएको बुझिएको छ । विवेकशील साझा पार्टीसँगको एकतापछि ‘सबै सुम्पेर गएको’ सन्देश गएको अनुभव उल्लेख गर्दै, नयाँ एकतामा त्यस्तो धारणा नबनियोस् भन्नेमा उनी पक्षधर देखिएका छन् ।

चुनाव चिह्नका विषयमा सञ्चारकर्मीले सोध्दा लामिछानेले ‘समयले बताउने’ प्रतिक्रिया दिएका थिए । रास्वपाको घण्टी चिह्न व्यापक रूपमा स्थापित भइसकेको भए पनि बालेनले मेयर चुनावमा प्रयोग गरेको लौरो चिह्नलाई देशविकास पार्टीले मान्यता दिएको सन्दर्भ पनि छलफलमा आएको छ ।

लामिछानेले पार्टीको नाम रास्वपा नै हुनुपर्ने शर्त राख्दा बालेनले कुलमान घिसिङलगायतसँग परामर्श गरेर निर्णय गर्नुपर्ने बताएका छन् । आजै साँझ कुलमान, बालेन र रविबीच थप छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

बालेनले आफूले प्रधानमन्त्री बन्ने ‘सर्टकट’ नखोजेको र जनभावनाअनुसार सबै नयाँ शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको धारणा राखेका छन् । देशविकास पार्टी, रास्वपा, उज्यालो नेपाललगायत शक्तिहरूको सम्भावित एकतामा कसले नेतृत्व गर्ने भन्ने बहस मुख्य विषय बनेको छ । बालेनले हर्क साम्पाङ, गोपी हमालजस्ता पात्रहरूसमेत जोड्ने जिम्मेवारी आफूले लिने स्पष्ट पारेका छन् ।

यसअघि कमलपोखरीमा भएको छलफलपछि बाहिरिएको अभिव्यक्तिले फरक सन्देश दिएको भन्दै बालेन असन्तुष्ट बनेका थिए । त्यसपछि एकता संवाद अघि नबढ्न सक्ने संकेत देखिए पनि बिहीबारको छलफललाई सकारात्मक मानिएको छ ।

रास्वपा नेता असीम शाहले संवाद सकारात्मक दिशामा अघि बढिरहेको र सुखद नतिजाको अपेक्षा गर्न सकिने बताएका छन् । पार्टी सचिवालय सदस्य सोबिता गौतमले पनि नयाँ शक्तिहरूबीचको निरन्तर संवाद स्वागतयोग्य रहेको प्रतिक्रिया दिएकी छन् ।

छलफल जारी रहँदा समानुपातिक उम्मेदवार बन्दसूचीको समयसीमा नजिकिँदै गएकोले निर्णयका लागि समय कम रहेको दुवै पक्षले महसुस गरेका छन् । ज्वागलमा अझै पनि रास्वपाका केही नेता, नागरिक समूह र जेनजी प्रतिनिधिहरूबीच अनौपचारिक संवाद चलिरहेको छ ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

प्रदर्शनका क्रममाज्यान गुमाएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाद्वारा १० लाख रुपैयाँ राहत

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर