राम आर्य
बिरगंज |बिरगंज महानगरपालिका वडा नम्बर २५सिर्सिया(सीमाक्षेत्र) अन्तर्गत सिर्सियाखलवा टोलमा भन्सार छली ल्याइएका सामान लुकाइएको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बलले एक घरमा खानतलासी गरेको छ। तर खोजतलासीका क्रममा कुनै पनि अवैध वा शंकास्पद सरसामान फेला नपरेपछि परिणाम शून्य भएको छ।

स्थानीय स्रोतका अनुसार रामाकान्त पटेलको घरमा भन्सार छलीका सामान राखिएको सूचनापछि सशस्त्र प्रहरीको टोलीले घरभित्र प्रवेश गरी लामो समयसम्म खोजतलासी गरेको थियो। तर त्यस क्रममा केही पनि बरामद हुन नसकेको बताइएको छ।घटनापछि स्थानीय बासिन्दाहरूले बिन अनुमति घरभित्र प्रवेश गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा सीमाक्षेत्रमा अवैध गतिविधि भइरहे पनि त्यसमा संलग्न वास्तविक व्यक्तिमाथि कारबाही नहुनु र निर्दोष नागरिकलाई दुःख दिनु चिन्ताको विषय हो।

“सूचनाका नाममा घरभित्र प्रवेश गरेर केही नपाएपछि पनि स्पष्ट जवाफ नआउनुले सर्वसाधारण त्रसित भएका छन्,” एक स्थानीय बासिन्दाले बताए।यस घटनापछि सिर्सियाखलवा टोलमा असन्तोषको वातावरण देखिएको छ। स्थानीयहरूले अबदेखि कानुनी प्रक्रिया र ठोस प्रमाणबिना यस प्रकारको घर प्रवेश नगर्न तथा सीमाक्षेत्रमा हुने वास्तविक भन्सार छली नियन्त्रणमा कडाइ गर्न सुरक्षा निकायसँग माग गरेका छन्।
यस विषयमा सशस्त्र प्रहरी पक्षले भने प्राप्त सूचनाका आधारमा नियमित प्रक्रिया अनुसार खोजतलासी गरिएको प्रतिक्रिया दिएको छ। तर उक्त घरबाट कुनै पनि अवैध सामग्री फेला नपरेको कुरा प्रहरीले स्वीकार गरेको छ।


