वीरगञ्ज । पर्सा जिल्लाको बहुदरामाई नगरपालिका–२ सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायका भागरित पासवानमाथि भएको आगजनी र कुटपिटको घटनामा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ।

आयोगका अध्यक्ष देवराज विश्वकर्मा, सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीसहितको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो। टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गर्दै घटनाको विस्तृत जानकारी लिएको छ।
पीडित भागरित पासवानका अनुसार निजी नम्बरी जग्गामा बाटो दिन अस्वीकार गरेकै कारण विपक्षी समूहले पेट्रोल छर्केर घरमा आगजनी गरेको थियो। आगजनीका क्रममा भागरित पासवान र उनकी श्रीमती मिना देवीमाथि कुटपिटसमेत भएको जनाइएको छ। घटनाबाट घरभित्र रहेका अन्न, नगद, गहना, कपडा र घर संरचनामा समेत गरी लाखौं रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारको भनाइ छ।
अनुगमनपछि आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायमाथि भएको यस प्रकारको हिंसा गम्भीर र निन्दनीय रहेको भन्दै दोषी जो–कोही भए पनि कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिए। उनले पीडित परिवारको सुरक्षा, उपचार र क्षतिपूर्तिको व्यवस्था तत्काल गर्न प्रशासनलाई आग्रह गरे।
त्यस्तै, आयोगका सदस्य तथा मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीले घटनाले समाजमा अझै जातीय विभेद विद्यमान रहेको देखाएको बताए। उनले यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै प्रहरी र प्रशासनले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नुपर्नेमा जोड दिए। आयोगले घटनाको निरन्तर अनुगमन गर्ने र पीडितलाई न्याय दिलाउन सबै तहमा पहल गर्ने उनले स्पष्ट पारे।
दलित अभियन्ता मनोज रामको पहलमा आयोगको टोली घटनास्थल पुगेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


